युद्ध : सार्वभौमसत्ता, मानवता र विश्वको भविष्य
लेखकको टिप्पणी:
मानव जीवनको सुरुवातदेखि अहिलेसम्म आइपुग्दा मानिसले आफ्नो अस्तित्व विश्वमा सुनिश्चित गर्नका लागि धेरै क्रियाकलापहरू गरेको छ । विकसित र बुद्धिमानी जीव कहलाउँदै गर्दा मानिसहरूमा दिन-प्रतिदिन धेरै महत्वकांक्षा, पमण्डीपना, इर्ष्या बढ्दै गएको पाइन्छ। मैं खाऊँ, मैं लाऊँ सुखसयल, मोजमस्ती मै गरुँ भन्ने भावले आजसम्म मानवद्वारा सिर्जित विश्वयुद्धजस्ता प्रकोपहरूले धेरै जनधनको क्षति गराएको छ।
सन् २०२१ नोभेम्बर १२ का दिन रसियाले आफ्ना सैनिकहरू युक्रेनको सीमामा पठायो। यसअघि सन् १९८९ तिर रसिया एक ठुलो राज्य सोभियत युनियन कहलाउँथ्यो। त्यस राज्यमा युक्रेन राज्य पनि समावेश थियो। पछि विभाजीकरण गर्दा रसियाका राज्यहरू एकल रूपमा छुट्टिए। यसरी रसियाले आफ्ना राज्यहरू गुमाउँदा विश्वप्रति आफ्नो महत्त्व कम भएको भान गरेर बेला-बेलामा स-साना राज्यहरूलाई आफ्नो हैकम देखाउन क्षेप्यास्त्र प्रहार गर्नेजस्ता कार्यहरू गरिरहन्छ। सोही कार्य युक्रेनसँग पनि गरेको देख्न पाइन्छ । सैनिक पठाएको करिब दुई महिनापछि २०२२ फेब्रुअरी २४ का दिन दिउँसो एक बजे युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरी युद्धको सुरुवात गर्छ। वर्तमान दिनसम्म करिब सात महिना वितिसक्दा पनि युद्धको अन्त्यको आश गर्न सकिएको छैन ।
करिब सात मिलियन युक्रेनी जनता आफ्नो वासस्थान देशबाट विस्थापित भएका छन् । दश हजार सैनिकहरूले आफ्नो जीवन युद्धका कारण गुमाउनु परेको अवस्था आइपरेको छ। समग्रमा भन्नुपर्दा जन र धनको क्षति ठूलो मात्रामा भएको पाइन्छ।
युद्धको प्रभाव युद्धमा संलग्न राष्ट्रहरूमात्र नभई अरू राष्ट्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परिरहेको छ। वैदेशिक मुद्राको घट्दो दर इन्धनको मूल्यवृद्धि खाद्यान्नको अनिकाल, सुनचाँदीजस्ता बहुमूल्य धातुहरूको बढ्दो मूल्य र आर्थिक क्रियाकलापमा शून्यताका कारण विश्व अर्थतन्त्र ध्वस्त भएको छ। विगत १०० वर्षभन्दा पनि तल्लोस्तरमा अर्थतन्त्र पुगेको अन्तर्राष्ट्रिय मुद्रा विनिमय संस्थाले जनाएको छ। रसिया र युक्रेन विश्वमा आवश्यक पर्नेमध्ये २५% गहुँको निर्यात गर्ने राष्ट्रहरूमा पर्छन्। तर आज यी दुई राष्ट्रबिच युद्ध हुँदा अरू राष्ट्रले खाद्यान्नको अभाव भोग्नुपरेको छ । इन्धनको निर्यात हुन नसकेका कारण इन्धनमा १००% भन्दा बढी मूल्यवृद्धि भएको पाइन्छ।
अर्थतन्त्रमात्र नभई आजका दिनमा मानिसमा भय र त्रासले ग्रस्त बनाएको पाइन्छ। मानसिक रूपमा शिथिल भएका व्यक्तिले देश विकासतर्फ लान सक्ने क्षमता नभएका कारण उनीहरू झन् देशका लागि बोझ ठहरिने भएका छन् । दिन-प्रतिदिन क्षेप्यास्त्र प्रहार गर्दा आमाको कोखमा रहेका आउने भावी पुस्तालाई पनि असर परेको अनुमान गर्न सकिन्छ । यतिमात्र नभई सयौं वर्षअधिका इतिहास बोकेका मूर्ति, भवन, मन्दिरहरू भग्नावेषमा रूपान्तरित भएको पाइन्छ। दिन-प्रतिदिन बढ्दो प्रदूषण, पढ्दै गएको हिमालको उचाई, बढ्दै गएको समुद्रको सतह, विकराल रूपमा बढेका अन्य रोगहरू सबै युद्धका डरलाग्दा असरहरू हुन् ।
युद्धले कहिल्यै पनि कसैलाई फाइदा नगर्ने सधैंभरि विनाश, मृत्यु, शोक र नकारात्मक असरहरू मात्र निम्त्याउने गरेकाले यसलाई कहिल्यै पनि कसैले प्रोत्साहन गर्नु हुँदैन।
युद्धले सकारात्मक कुरा ननिम्त्याउने भए पनि रसिया र युक्रेनबिचको युद्धले सार्वभौमसत्ताको प्रतीक देखाउँछ ।
युक्रेन रसियाका अगाडि निकै सानो राष्ट्र भए पनि, अर्थतन्त्रका हिसाबले मेल खाने नभए तापनि आफ्नो अस्तित्व, आफ्नो सार्वभौमसत्ता नगुमाउनका लागि ठुलो राष्ट्रसँग अघि परी डटेर लडेको देख्न सकिन्छ। आफ्नो देशप्रेमको उत्कृष्ट नमूना नै युक्रेन हो। सामान्य जनताका अगाडि एक हाँस्य कलाकारका रूपमा चिनिने युक्रेनका राष्ट्रपति जेलेन्स्की आफ्ना देशबासीको रक्षा गर्न ठुलो राज्य रसियासँग युद्धमा डटेका छन्। अर्कातिर पुटिन धेरै पटक रसियाको राष्ट्रपतिको भूमिका निभाएका थिए, उनी पनि आफ्नो देश विश्वसामु सर्वश्रेष्ठ जनाउनका लागि बलियो देखाउनका लागि पछि हटेका छैनन् । दुबै देशहरू आफ्नो आफ्नो स्वार्थका निम्ति युद्ध नरोक्ने दृढ निर्णयका कारण आज दुवै देशहरू अर्थतन्त्रको चपेटामा परेका छन्, देश र जनता धेरै नराम्रोसँग प्रभावित भएका छन् ।
बढ्दो बैमनस्यता, मनोकांक्षा, लोभ, लालचका कारण आएका विपत्तिहरूमध्ये यस युद्ध पनि एक नमूना हो । दुई राष्ट्रसँगै बसेर यो द्वन्द्व अन्त्य गर्नुपर्ने जरुरी देखिन्छ । आफ्ना कुटनीतिक, राजनीतिक मनमुटावहरू जुनसुकै देशले पनि अन्त्य गर्नुपर्छ । अन्त्य नगरेमा पृथ्वीको अस्तित्व नै जोखिममा पर्ने देखिन्छ। त्यसैले सबैले 'सय थरी गोडा एउटै चाल' भनेझै सय थरी सोच, क्षमता, मानिस तर एकमात्र उद्देश्य 'सर्वे भवन्तु सुखिन्' लिएर हिँडेमा सबै खुशी, सुखी र शान्ति भएको अपेक्षा गर्न सकिन्छ।
© Beamsandreams. Originally published in the KMC Annual Magazine 2079. Reproduced here by the author.

Comments
Post a Comment