कसले भन्यो र यहाँ
कसले भन्यो र यहाँ, मरेर जाँदा कसैले केही लैजाँदैन?
मैले त आफ्नै आँखाले, सिंगो संसारै रित्तिएको देखेको छु।
जब बितेर जानुभयो मेरो प्यारा हजुरबुवा,
त्यसपछि यो घरको ओठबाट हाँसो खोसिएको देखेको छु।
कसैका लागि त त्यो केवल एउटा काठको दागबत्ती मात्र थियो होला,
तर मैले त त्यहीँ, हजुरआमाको सिउँदोको सिन्दुर पुछिएको देखेको छु।
राता चुराका ती टुक्राहरूसँगै,
उहाँको रङ्गीन संसार उजाडिएको देखेको छु।
रातै कपडा अनि रातै साडी,
एकै पलमा वैराग्यको सेतोमा बद्लिएको देखेको छु।
जसले यो घरको खुसीलाई जग हालेर अड्याएका थिए,
उनकै निधनपछि घरको त्यो खुसीको डोरी नै चुँडिएको देखेको छु।
बाबाको अनुहारमा सधैं रहने त्यो निश्चल चमक,
बुवा गुमाएको त्यो दिनदेखि हराएको देखेको छु।
काँधमा जिम्मेवारीको गरुङ्गो भारी बोकेर,
भित्रभित्रै उहाँको मन रोएको देखेको छु।
त्यसैले नभन मलाई कसैले "जाँदा केही लैजाँदैन" भनेर,
जानेले त आफूसँगै बाँचेकाहरूको,
बाँच्ने बहाना नै लिएर गएको देखेको छु।
-This poem was written by Rahul Timalsina and is published on this blog with the author's permission. All rights remain with the original author.

Comments
Post a Comment